राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा दायर गरेको हो ।
योसँगै लामिछानेको सांसद पद निलम्बन भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा २७ अनुसार उनको सांसद पद स्वतः निलम्बन भएको हो । पार्टी संसदीय दलका नेता समेत रहेका लामिछानेको सांसद पद निलम्बनमा परेसँगै अब रास्वपाको कार्यवाहक सभापति को बन्छन्/बन्दैनन् भन्ने आमचासो छ ।