मेचीनगरको निन्दा खोलाको झाडीमा नवजात शिशु फेला परेको करिब तीन सातापछि बुद्धशान्तिमा पनि बेवारिसे अबस्थामा नवजात शिशु भेटिएको छ ।
आइतबार दिउँसो अन्दाजी ३:३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं. ४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेको हो ।
दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल, भेलभेटको तौलीमा पोको पारी छोडेर गएको अबस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाँदा फेला पारेकी थिइन् । उनले आफ्नो घरमा ल्याएर राखेको भनी अस्थाई प्रहरी चौकी मंगलबारेमा जानकारी गराएकी थिइन् ।
नवजात शिशुलाई त्यस वडाका वडा अध्यक्ष शेरबहादुर राईलाई संरक्षणको लागि जिम्मा लगाई फेला पार्ने महिलाको साथमा प्रादेशिक अस्पताल भद्रपुर पठाएको र शिशुको अबस्था सामान्य रहेको जनाइएको छ ।