पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जोडबाट जोगिन र छालाको स्याहार गर्न बढी सतर्कता आवश्यक हुन्छ । विज्ञहरूका अनुसार जाडोमा टाउकादेखि पैतालासम्मका सबै अङ्ग चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ ।
निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा प्रज्ज्वल पुडासैनीका अनुसार जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ । 'हत्केला तथा पैतालामा तेल निकाल्ने ग्रन्थी (सिवेसियस ग्लान्ड) एकदम कम हुन्छ । त्यसैले छालामा ओस (मोस्चइर) प्रदान गर्ने चिल्लो कम हुँदा छाला सुक्खा हुन्छ,' उनले भने।