सहकारीको बचत अपचलनबाट आर्जित रकम जीबी राईले लीला पछाई र मलेसियाका एनआरएन विश्वविक्रम राईमार्फत ‘क्रिप्टो करेन्सी’ मा लगानी गरेको भेटिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पछाई र राईमार्फत १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ बराबरको डिजिटल कारोबार गरी क्रिप्टो करेन्सीमा लगानी गरेको फेला पारेको हो ।
रवि लामिछानेसहित आइतबार ४४ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्ने क्रममा जिल्ला सरकारी वकिल कार्यालयले क्रिप्टो करेन्सीमा लगानी भएको प्रमाणसमेत बुझाएको छ । सूर्यदर्शन सहकारीबाट समेत पछाईको बैंक खातामा रकम गएको देखिएपछि उनलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो । गुल्मीको सामान्य परिवारकी पछाई जीबीकै संगतले विलासी जीवन बिताइरहेकी थिइन् ।