आफ्नी श्रीमतीसँग अनैतिक सम्वन्ध रहेको आशंकामा दोलखाको जिरी नगरपालिका–२ पटासेका धनबहादुर तामाङले चिर्पटले हानेर छिमेकीको हत्या गरेका छन्। छिमेकी ६१ वर्षीय होमबबहादुर तामाङको २६ पुसमा हत्या भएको हो।
मृतक होमबहादुरको शव दुई दिनपछि मात्रै घरमा फेला परेको थियो। प्रहरीका अनुसार २६ पुसमा भैँसी हराएको भन्दै होमबहादुर, छिमेकी धनबहादुर तामाङ, उनकी श्रीमती गंगामाया तामाङ र शान्ता जिरेल खोज्न निस्किएका थिए।
भैँसी खोजेर फर्केपछि होमबहादुरको उनकै घरमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुशन्धानमा खुलेको छ। भैँसी खोजेर घर फर्केका ४ जना मध्ये मृतक होम्बबहादुर र गंगामायाबीचको सम्बन्ध खुलेपछि गंगामायाका श्रीमानले चिर्पटले हानेर हत्या गरेको अनुसन्धानका क्रममा फेला परेको इन्स्पेक्टर शत्रुधन महतोले बताए।
सँगै भैँसी खोज्न हिँडेकी श्रीमती घर नफर्केपछि धनबहादुर र शान्ता गंगामायाँ होमबहादुरको घरमा पुगेका थिए। होमबबहादुर र गंगामाया सँगै फेला परेपछि धनबहादुर तामाङले चिर्पटले हानेर हत्या गरेको हत्यामा संलग्नहरूले बयान दिएका छन्। तामाङको हत्यापछि प्रमाण नष्ट गरेर गंगालाई सँगै लिई धनबहादुर र शान्ता घर फर्केका थिए।