महोत्तरीको सोनमा गाउँपालिका–२ मा एक युवकको शव फेला परेको छ। गाउँको छेउमै स्थानीय २९ वर्षीय ज्ञानु भनिने नरेन्द्र यादवको शव फेला परेको हो।
युवकको शव अर्धनग्न अवस्थामा फेला परेको हो। उनको घाँटी थिचिएको र जिउभरी निलडाम देखिएको छ। प्रहरीसमेतले नरेन्द्रको हत्या भएको आशंका गरेको छ। गम्छाले घाँटी थिचेर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।
सोमबार साँझदेखि हराइरहेका उनी मरछर टोलदेखि सोनमा गाउँ जाने बाटोमा गहुँ खेतमा मृत भेटिएका हुन। स्थानीयका अनुसार सोमबार साँझ उनी बजारमा देखिएका थिए। त्यहाँ खानपिन गरेर हिडेपछि उनी राति घर पुगेका थिएनन्। आज बिहान गहुँ खेतमा घोप्टो परेको अवस्थामा उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत ल्याईएको छ। शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। महोत्तरी प्रहरीका एसपी नकुल पोखरेलले हत्याको आशंकामा थप अनुसन्धान भइरहेको छ।
पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि थप जानकारी दिन सकिने उनले वताए। मृतक यादव सोनमा गाविसका पूर्वअध्यक्ष गोकुल यादवका छोरा हुन।