काठमाडौँ जिल्ला अदालतको परिसर भित्रै अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने ब्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर ढल्कँदै गरेका कांग्रेस कार्यकर्ता रहेको खुलेको छ।
रास्वपाका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा जाहेरीकर्ताको तर्फबाट बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि बिहिबार अदालतबाहिर जम्मा भएको भीडले हुलहुज्जत गरेको थियो। रविविरुद्ध बहस गरेको आक्रोशमा रास्वपाका कार्यकर्ताले उनलाई कुटेको आरोप आलोचकहरुले लगाइरहेका छन्।
घट्नामा संलग्न भएको आरोपमा प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका १ का ४८ वर्षीय ललित केसीलाई पक्राउ गरेको छ। गाउँमा उनको बोलाउने नाम राजेन्द्र हो। केसी ललितपुरको टिकाथलीमा डेरा गरी बस्दै आएका छन्। उनी घरजग्गा कारोवारको व्यवसायमा संलग्न छन्।
प्रहरीले उनको राजनीतिक पुष्ठभूमि खुलाएको छैन। काठमाडौं प्रहरी परिसरका एसपी नबराज अधिकारीले केसीको राजनीतिक पृष्ठभूमि र पेशा–व्यवसाय खुलिनसकेको वताएका छन्। तर, रास्वपाले केसीको संलग्नता आफनो पार्टीसँग नभएको जनाएको छ। रास्वपाकी कार्यवाहक प्रवक्ता प्रतिभा रावलले पार्टीको तर्फबाट आन्तरिक छानबिन गर्दा उनी रास्वपामा आवद्ध रहेको कुनै पनि प्रमाण नभेटिएको बताइन्।