सहकारीको बचत अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
गत २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई यसअघि ६ दिन थुनामा राख्ने अनुमति थियो । तर बयान नसकिएको भन्दै प्रहरीले बिहीबार अदालतसँग थप समय थुनाका निम्ति अनुमति माग्यो । प्रहरीको माग बमोजिम थुनामा राख्न अनुमति दिइएपछि रास्वपाका कार्यकर्ता थप आक्रोशित देखिएका छन् ।
पोखराका विभिन्न चोकमा प्रदर्शन गरिरहेका रास्वपाका नेता–कार्यकर्ताले बिहीबार निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । यसअघि पनि उनीहरुले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएका थिए ।
रवि निर्दोष रहेको पार्टीको निष्कर्षसहित रास्वपाका नेता–कार्यकर्ताले पक्राउविरुद्ध प्रदर्शन गरिरहेका छन् । संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएलगत्तै रवि स्वयंले ‘क्लिन चिट’ पाएको तर्क गरेका थिए ।
सत्तारुढको बैठकमा रास्वपाको गतिविधिप्रति आपत्ति जनाएर सबै सत्तारुढले वक्तव्य जारी गर्ने निर्णय भएको छ । जसअनुसार ७ कात्तिकमै कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बक्यव्य जारी गरे ।
‘सहकारी ठगी प्रकरणमा केही दिनअघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरुलाई आतकिंत र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भइरहेकाले …’ कांग्रेस विज्ञप्तिमा भनिएको छ ।