नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि जुलुस निकालेको छ । काठमाडौं मलमा जम्मा भएर माओवादीले जुलुस निकालेको हो ।
सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै माओवादीले आज खबरदारी सभा आयोजना गरेको छ ।
आरएनएसी हुँदै अघि बढेको प्रदर्शन भृकुटीमण्डप पुगेपछि खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ ।
जुलुसमा माओवादी शीर्ष नेताहरूका साथै कार्यकर्ताहरू सहभागी भएका छन् ।
माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको जनाएको छ ।