Meta Title --> सरकार परिवर्तन गर्न कांग्रेससँग पहल गरेको छैन, गगन थापाप्रति दया लाग्छ : अध्यक्ष दाहाल

सरकार परिवर्तन गर्न कांग्रेससँग पहल गरेको छैन, गगन थापाप्रति दया लाग्छ : अध्यक्ष दाहाल


 प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको बताएका छन् ।

खुमलटारमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले कांग्रेस महामन्त्री गगन थापाले केही दिन पहिले गरेको दाबीमा सत्यता नभएको बताएका हुन् । कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा कांग्रेसका महामन्त्री गगन थापाले अध्यक्ष दाहालले हप्ताको दुई/तीन पटक कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको दाबी गरेका थिए ।

थापाको सोही दाबीबारे प्रतिक्रिया दिँदै दाहालले सरकार परिवर्तनको कुरा आफूले अघि नबढाएको बताएका हुन् । उनले २०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरूमार्फत आग्रह गरेको बताएका थिए । उनले महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताए । जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको दाहालको टिप्पणी थियो । कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाहालको दाबी थियो । उनले महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिएका थिए ।

‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन,' दाहालले भने, 'गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल कति छिटो झर्न सकेको हो ? त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्नसक्ने भएको देख्दा उहाँप्रति मलाई साँच्चै दया लागेको छ ।


Previous Post Next Post