Meta Title --> कुशल मल्ल र रवी बोपाराको उत्कृष्ट ब्याटिङमा चितवनले जनकपुरविरूद्ध जोड्यो १८० रन

कुशल मल्ल र रवी बोपाराको उत्कृष्ट ब्याटिङमा चितवनले जनकपुरविरूद्ध जोड्यो १८० रन


 सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले कप्तान कुशल मल्ल र रवी बोपाराको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८० रन जोड्यो।

कप्तान कुशलले ७२ रनको योगदान गरे।  १९औं ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।  १७औं ओभरमा निशमकै बलमा आसिफ शेखले क्याच छाड्दा कुशलले ५३ रनमा जीवनदान पाएका थिए। 

कुशलले चौथो विकेटका लागि रवी बोपारासँग ११३ रनको साझेदारी गरे। जसका कारण चितवनको स्कोर बढेको थियो। बोपाराले अन्तिम ‍ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीको बलमा क्याच हुनुअघि ४४ रन जोडे। उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि ओपनर हसन इशाखिलले १९ बलमा २८ रन जोडे। आठौं ओभरमा जनकपुरका हर्ष थाकरको बलमा स्टमपिन हुनुअघि उनले ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर विपिन रावल ३ रनमा आउट भए भने सन्तोष कार्कीले १२ बलमा १४ रन बनाए।

बलिङमा जनकपुरका ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे पनि अरु बलर चल्न सकेनन्। राजवंशीले आफ्नो स्पेलको सुरूवाती दुई ओभर मेडन राखे। राजवंशीले २ विकेट लिँदा ११ रन खर्चिए। जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा रहेका राजवंशीले कुल १३ विकेट लिइसकेका छन्। ललितबाहेक खेलमा हर्ष थाकर, मोहमद मोहसिन र जिमी निशमले १-१ विकेट लिए।

Previous Post Next Post