झापामा यात्रु बसले ३ वटा सवारीसाधनलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका–५ ज्योति चौकमा विहान करिव साढे ११ बजे प्रदेश १–०२–००१ ख ९७०६ नम्बरको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो।
अनियन्त्रित बसले पहिला प्रदेश १–०१–००२ च ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करबाट कार सडकबाट तल खसेको थियो। त्यसपछि सोही बसले डब्ल्युबी ७४ एएक्स २८२९ नम्बरको कार र प्रदेश १–०१–०२ ह ९०१ नम्बरको सिटी सफारीसमेत लाई ठक्कर दिएर पल्टिएको थियो।
दुर्घटनामा बस चालक मोरङ कटहरी–३ का ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक दमक–९ का ५० वर्षीय राम गुरागाईं, सोही सिटी सफारीमा बसेका कमल गाउँपालिका– ३ का २८ वर्षीया सुनिता सहनी, डब्ल्युबी ७४ एएक्स २८२९ नम्बरको कारका चालक भारतको सिलिगुडीका ३२ वर्षीय गोपाल अग्रवाल र अर्को कारका चालक संखुवासभाको थोतखोला–२ का ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका छन्।
सामान्य घाइतेहरुको दमकस्थित निम्स अस्पताल र गम्भीर घाइतेहरुको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सई अर्जुन सोडारीले जानकारी दिए।