नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिष्पर्धा गर्दै छन्।
सुदूरपश्चिम र जनकपुर एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित शनिबार मैदानमा उत्रनेछन्। कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजेदेखि फाइनल खेल सुरु हुनेछ। दुई दिनअगाडि नै सबै टिकट बिक्री भइसकेकाले फाइनलमा दर्शकको उपस्थिति बाक्लो हुनेमा दुईमत छैन।
यसबाहेक मैदानभित्रको प्रतिष्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ। लिग खेल बीचतिर आइपुग्दा नै सुदूरपश्चिम र जनकपुरलाई स्वाभाविक रूपमा उपाधिको दावेदारका रूपमा हेरिएको थियो। दुवैले सोहीअनुरूप प्रदर्शन पनि गरे।
उपाधि भिडन्तअगाडि नै सुदूरपश्चिम र जनकपुरबीच दुईपल्ट प्रतिष्पर्धा भएको थियो। दुवै खेलको नतिजा सुदूरपश्चिमको पक्षमा रह्यो। ती दुवै खेलमा सुदूरपश्चिम जनकपुरमाथि पूर्णतः हावी भयो।