चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएका छन् ।
चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९:०५ बजे भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर’ का अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।
नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको उद्गम बिन्दु जमिनको सतहदेखि १० किलोमिटर तल रहेको थियो । भूकम्प गएको क्षेत्र नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै पर्छ ।
नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपालमा भूकम्पको क्षमता ५.३ म्याग्निच्युड मापन गरिएको थियो । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले भने उक्त भूकम्प ७.१ म्याग्निच्युडको भएको जनाएको छ ।