नेपाली चलचित्र ‘कार्साङ’को कथावस्तुमा गलत प्रस्तुति गरेको भन्दै शेर्पा समुदायले आपत्ति जनाएका छन्।
चलचित्रमा बलि र छेवर संस्कारलाई देखाइएको तर ती प्रथाहरू शेर्पा समुदायमा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो। बौद्ध धर्मावलम्बी शेर्पा समुदायका अनुसन्धानकर्ता सेर्कु शेर्पाले शेर्पा संस्कृतिमा बलि र छेवरको कुनै स्थान नभएको बताउँदै यस्ता चलचित्रहरूले सांस्कृतिक विचलन ल्याउन सक्ने चेतावनी दिए।
शेर्पा चलचित्र संघले जारी गरेको विज्ञप्तिमा शेर्पा समुदायको संस्कारको दुरुपयोग गरेको भन्दै सार्वजनिक माफीको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘शेर्पा समुदायले बुद्ध धर्मलाई मान्छ, बलि दिने प्रथा हाम्रो संस्कृति होइन ।’