सुरक्षाकर्मीहरुले आफैंमाथि गोली हान्ने गरेका घट्ना वढ्दै गएका छन्। पछिल्लो पटक बुधबार साँझ कञ्चनपुरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका छन्।
हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा खटिएका विष्टले करिव साढे ८ बजे एसएलआर राइफलको गोली टाउकोमै दागेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ।
विष्ट गोली लागेर उनी गम्भीर छन्। विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।
यसअघि १२ पुषको साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमै कार्यरत २१ वर्षीय चक्रप्रसाद न्यौपानेले आफ्नै टाउकोमा गोली हानेका थिए। जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा पेस्तोलबाट टाउकोमा गोली हानेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भएको थियो।
गोली चलेको आवाज आएपछि हेर्न जाँदा टाउकोबाट रगत बगिरहेको अवस्था उनको उद्धार गरीएको थियो।
१३ मंसिरमा अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज सई किसनबहादुर चन्दले पनि आफैंलाई गोली हानेका थिए। उनले मादक पदार्थ सेवन गरी अन्य दुई प्रहरीलाई सँगै राखेर ‘मलाई अमिताभ बच्चनको जस्तै एक्सन गर्न आउँछ’ भन्दै आफैंमाथि पेस्तोल ताकेका थिए। त्यसै वेला गोली चलेर उनी घाईते भएको प्रहरीको अनुशन्धानबाट खुलेको छ।
विगतमा पनि उनले विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको पाईएको छ। घटना भएको दिन पनि चन्दले प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगन चन्दमाथि गोली प्रहार गर्न खोजेको पाईएको छ। सईले पेस्तोल ताकेपछि हवल्दार गगनले भागेर ज्यान बचाएका थिए। त्यसपछि उनले आफैमाथि गोली प्रहार गरेको अनुशन्धानका क्रममा खुलेको छ।
नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत चन्दको जागिर खोस्न छानविन समितिले सिफारिस गरेको छ।