मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, बसर्पाकस्थित एक होटलको कोठाको विगत ९ दिनदेखि बस्दै आएका २८ वर्षीय युवक मृत भेटिएका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भएका सरोज शाह बिहीबार बिहान साढे १२ बजे चण्डिका होटलको २०१ नम्बर कोठामा मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालयका अनुसार मृतक शाहको शव खाटमा पलेँटी कसेर बसेको अवस्थामै मुन्टो घोप्टो परेको स्थितिमा भेटिएको थियो ।
प्रहरीले शाह बस्ने कोठामा सानो प्लेटमा सिक्का पैसा, ड्रग्स जस्तो देखिने सेतो पदार्थ र ब्लेड फेला पारेको जनाएको छ । ‘मादक पदार्थ सेवन गरेको र कोठामा लागूपदार्थ जस्तो सेतो वस्तु भेटिएकोले ओभर डोजको अनुमान छ । तर जाँच नभइसकेकाले यही नै कारण हो भन्न सकिँदैन,’ डीएसपी अर्यालले भने ।
नाकबाट रगत बगेको अवस्थामा भेटिएका शाह बुधबार साँझ हेटौँडा–४ कमलडाँडामा मादक पदार्थ सेवन गरेर साँझ साढे ६ बजे होटलमा आइपुगेको अर्यालले जानकारी दिए । मृतक शाहलाई नेपाल प्रहरीका एक जना कर्मचारीले नै होटलमा पुर्याउन आएका थिए । प्रहरीले उनलाई सोधपुछ गरेको छ ।