Meta Title --> महँगी दर १४ महिनायताकै उच्च

महँगी दर १४ महिनायताकै उच्च


 गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः बढ्न लागेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

महंगी दर बढ्दै जाँदा खाद्य तथा पेयपदार्थको समूहको मुद्रास्फीति दोहोरो अंकनजिक पुगेको छ । मंसिरमा उक्त समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९.९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।

Previous Post Next Post