पछिल्ला केही सातायता चीनका अस्पतालहरूमा मानिसहरूले मास्क लगाइरहेका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालहरूमा देखिएका छन् । ती तस्बिर तथा भिडियोहरूका आधारमा चीनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) को संक्रमण फैलिएको अनुमान गरिएको छ ।
एचएमपीभीका बिरामीहरूको चाप बढेसँगै चीनले खासगरी बालबालिकाहरूमा एचएमपीभी भाइरस संक्रमणका घटनामा वृद्धि भएको स्वीकार गरेको छ । तर यो मौसमी संक्रमण भएको चिनियाँ अधिकारीहरूले दाबी गरेका छन् ।
खास गरी १४ वर्ष र सोभन्दा कम उमेरका बालबालिकामा भाइरसको संक्रमण बढिरहेको पाइएको चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर अस्पतालहरूमा बिरामी चाप बढेको भन्ने दाबीलाई उनीहरूले अस्वीकार गरेका छन् ।