नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंको कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको ३२ खेल भए।
८ टोलीबीच प्रतिस्पर्धा भएको एनपीएलको फाइनल शनिबार भएको थियो। सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुम्यो।
रोमान्चक एनपीएलका खेल दौरान फाइनलउन्मुख आइपुग्दा भने केही असहज परिस्थिति देखा पर्यो। मधेसी समुदायप्रति लक्ष्य गर्दै विभेदकारी र अपमानजनक शब्द अराजक समूहले व्यक्त गरे।
गत पुस ४ गते जनकपुर बोल्ट्स र कर्णाली याक्सको खेल थियो। खेल जनकपुर बोल्ट्सले जितेसँगै उदण्ड र अराजक समूहले जनकपुर बोल्ट्स समर्थक लक्ष्य गर्दै नारा लगाए।
जनकपुर बोल्ट्सप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नारा शनिबारको फाइनलपछि पनि लाग्यो। अराजक समूहले जनकपुर बोल्ट्स समर्थकप्रति देखाएको नश्लीय, साम्प्रदायिक र रंगीयताका व्यवहारको सर्वत्र विरोध भइरहेको छ।