अछामको कमलनगर नगरपालिका–६, हात्तिबाचका ३१ वर्षीय नरेन्द्रबहादुर शाही १ वर्षअघिसम्म पत्निसहित भारतको मुम्बईमा बस्दै आएका थिए। त्यसैक्रममा उनको स्वास्थ्यमा समस्या देखियो। अस्पतालमा चेकजाँच गराउँदा मिर्गौलामा समस्या देखियो।
त्यसपछि उनी औषधी उपचार गर्न नेपाल फर्किेए। भक्तपुरको दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा जाँच गराउँदा दुबै मिर्गौला फेल भएको पत्ता लाग्यो। मिर्गौला प्रत्यारोपण गर्नुको विकल्प नभएपछि उनले श्रीमतीलाई पनि नेपाल बोलाए। गाह्रोसाह्रो पर्दा सहज हुने भन्दै अस्पताल नजिक पर्ने गरी भक्तपुर नगरपालिका–२ शहिद खेल मैदान नजिकै कोठा भाडामा लिएर बस्न थाले।
उनले बुबा ६३ वर्षीय दीपबहादुरसँग मिर्गौलाका लागि कुरा राखे। दीपबहादुर मिर्गौला दिन तयार भए। जाँच गर्दा बुबाको मिर्गौला प्रत्यारोपण गर्न मिल्ने देखियो। त्यसपछि अछाममा भएकी आमा, सालो र साँढुदाईलाई पनि कोठामा बोलाए।