दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एक जना विरामी युवक भर्ना भए। दाङकै दंगिशरण गाउँपालिका २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीलाई दिउँसो करिव ४ बजे लडेर घाईते भएको भन्दै गम्भिर अवस्थामा अस्पताल पुर्याईएको थियो।
त्यहाँ सामान्य उपचारपछि उनलाई नेपालगञ्ज नर्सिङ होममा रिफर गरियो। उपचारकै क्रममा बेलुका साढे ८ बजे युवकको मृत्यु भयो। ४ माघमा पोस्टमार्टम गरेर भेरी अस्पताल बाँकेले मृतकको बुवा अबिर कुसारीलाई शव जिम्मा लगायो।
अबिरले छोराको शव घुर पुर्याए। दाहसंस्कार गर्ने तयारी हुँदै थियो। ठिक त्यसै वेला घरमा प्रहरी पुगेर प्रेमबहादुरको शव नियन्त्रणमा लियो। दाङ प्रहरीका एसपी अर्जुन प्रसाद तिमिल्सिनाका अनुसार लडेर मृत्यु भएको भनिएका ब्यक्तिको गोली लागेर मृत्यु भएको सूचना पाएपछि शव नियन्त्रणमा लिईएको हो।
प्रहरीले शव पोष्टमार्टमका लागि पुनः अस्पताल पुर्यायो। दोस्रो पटक पोस्टमार्टम गर्दा युवकको शरीरमै गोली भेटियो। त्यसपछि भने अस्पतालका डाक्टरहरु समेत आश्चर्यमा परे। प्रहरीले सोधपुछ गर्दा ‘मृतकका बुबा अविरले नै लडेर मृत्यु भएको’ भनेपछि सामान्य रुपमा पोष्टमार्टम गरेर शव जिम्मा लगाएको उनीहरुले वताएका छन्।