अछामको ढकारी गाउँपालिका–१ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ रहस्यमय रुपमा मृत फेला परेका फुपु भदैनीको हत्या भएको प्रारम्भिक निस्कर्षसहित प्रहरीले अनुशन्धान थालेको छ।
ढकारी गाउँपालिका–८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो। उनीहरु शुक्रवार बाख्रा गएपछि घर फर्किएका थिएनन्। खोजतलास गर्ने क्रममा दुवै जनाको शव शनिवार फेला परेको हो। मृतकमध्ये सरस्वती फुपू र ईशरा भदैनी हुन।
अछाम प्रहरीका डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार दुवै किशोरीको शव अलग–अलग ठाउँमा फेला परेको छ। उनीहरुको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरू देखिएका छन्। इशराको शव बाटोदेखि करिब २० मिटरको दूरीमा छ। उनको टाउको र निधारमा ठुलो घाउ लागेको प्रहरीले जनाएको छ।
शव बुट्यानमा अड्किएको जस्तो देखिन्छ। इशराको शव भएको ठाउँभन्दा करिब १६ मिटरमाथि सरस्वतीको शव छ। उनको शव घोप्टो पल्टिएको र खुट्टा भाँचिएको छ। यो सवै हेर्दा उनीहरुको हत्या भएको जस्तो देखिएको प्रहरीले जनाएको छ।