लाइभ कन्सर्टका क्रममा सेल्फी खिच्न आएकी किशोरीलाई समातेर झ्याप्पै ओठमा किस (चुम्बन) खाईदिएपछि गायक उदित नारायण झा विवादमा परेका छन्। किशोरीलाई किस गर्दै गरेको भिडिओ यतिबेला चर्चामा छ।
सामाजिक संजालमा भाइरल भएको भिडिओमा उदितले लाइभ कन्सर्टमा फिल्म ‘मोहरा’को ‘टिप–टिप बर्षा पानी’ बोलको गीत गाउँदै गरेको देखिन्छ। त्यसपछि केही महिला फ्यान सेल्फी लिन स्टेज नजिक पुग्छन्। उनीसँग उदितले सेल्फी लिन्छन्। त्यसपछि उनको गालामा चुम्बन गर्छन्। यसपछि गायक स्टेजको अर्को छेउमा गएर त्यहाँ उभिएका बाउन्सरलाई फ्यानलाई स्टेजको नजिक आउनबाट नरोक्न संकेत गर्छन्।
त्यसपछि अर्की एक किशोरी स्टेज नजिक जान्छिन्, उनलाई उदितले इसारा गरेर नजिक आउन बोलाउँछन्। त्यसपछि उनी सेल्फीका लागि स्टेजमा घुँडा टेक्छन् र फोटो खिचेपछि किशोरीले उदितको गालामा चुम्बन गर्छिन्। त्यही मौकामा किशोरीले थप सोच्न नपाउँदै उदितले झम्टेर उनको ओठामा किस गर्छन। यही दृश्य अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ।